दिल्ली उडानको टिकट महँगो भएकोमा सांसद महासेठको गुनासो, मूल्य घटाउन मन्त्रालयलाई आग्रह

लोकपथ
504
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले काठमाडौं–दिल्ली उडानको हवाई टिकट अत्यधिक महँगो भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यसको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद महासेठले साधारण नेपालीले इकोनोमिक क्लासको टिकटका लागि ६० देखि ८० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था दुःखद् रहेको बताए ।

उनले भने, ‘हाम्रो एयरलाइन्स धेरै कम इण्डिया रुटमा सञ्चालन हुन्छन् । एउटा सामान्य नेपालीले दिल्ली जान ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासमा तिर्नुपर्ने अवस्था छ । ४० हजारमा एक साइडको टिकट लिनुपर्छ, ३० हजारमा पनि पाइन्छ । तर कुन सिट रोज्ने भन्ने आधारमा अगाडिको सिटका लागि थप ५ हजार रुपैयाँ छुट्टै तिर्नुपर्छ । यस्तो अवस्था अन्य देशमा देखिन्न । यसलाई ब्रेक गर्ने जिम्मा मन्त्रालयको हो ।’

सांसद महासेठले नेपाल–भारतबीचको हवाई मात्रा (फ्रिक्वेन्सी) बढाउनुपर्ने र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी टिकट मूल्य नियन्त्रणमा ल्याउनुपर्ने धारणा राखे ।

बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?