काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले कारागारबाट पठाएको सन्देश लिएर देशव्यापी आन्दोलनमा उत्रिने बताएका छन् ।
शनिबार पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले पार्टी सभापतिलाई दुःख दिइए पनि पार्टीको गतिविधि सुस्त नबनेको बताए ।
‘सदनको आन्दोलनलाई बिस्तारै सडकमा ल्याएका छौँ, अब यो आन्दोलन रोकिनेवाला छैन,’ उनले भने, ‘मैले पहिले पनि भनेको छु, हाम्रो संघर्ष अनन्त छ । अनन्तकालीन सङ्घर्षको शंखनाद गरिसकेका छौँ । यसको स्वरूप भने बदलिँदै जानेछ कहिले नीलो रिबन लगाएर उभिनेछौँ, कहिले पलेँटी कसेर बस्नेछौँ, कहिले सदन बहिष्कार गर्नेछौँ त कहिले सडकमा उत्रिएर लल्काउनेछौँ ।’
वाग्लेले आन्दोलनलाई जिल्ला, पालिका र टोलस्तरसम्म लैजाने योजना रहेको बताए । उनले भने, ‘यो अभियान २०८४ सालको निर्वाचनसम्म निरन्तर चल्नेछ । त्यस बेलासम्म रास्वपा देशको मूलधारे राजनीतिमा निर्णायक शक्ति बन्नेछ । अहिले हामी उल्लासबाट संघर्षको मोड र मुडमा छौँ । दुःख पर्दाको ऊर्जालाई सशक्त राजनीतिक पुँजी बनाउनेछौँ । एक ढिक्का भएर अघि बढे कसैले रोक्न सक्दैन । रवि लामिछानेले न्याय पाउन पनि हामी राजनीतिक रूपमा अझ बलियो हुनुपर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया