काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले रास्वपा देशको नेतृत्व गर्न तयार रहेको बताएका छन्।
शनिबार काठमाडौंको माइतीघरमा आयोजित पार्टी स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले मुलुकको नेतृत्व अब युवाले सम्हाल्नुपर्ने बताए।
‘प्रत्येक युगका युवाहरूले आफ्नो युगको नेतृत्व गर्छन्। तपाईंहरू बाटो छोड्नुस्, हामी नेतृत्व गर्न तयार छौँ,’ परियारले भने, ‘र यो नेतृत्व विचारको हुन्छ।’
उनले देशको नेतृत्व गर्नु सजिलो नभए पनि रास्वपा सजिलो कामका लागि राजनीतिमा नआएको स्पष्ट गरे। ‘हामी सुविधाजनक जीवन भोग्न राजनीतिमा आएका होइनौँ। यो देश आज जस्तो छ त्योभन्दा सयौँ गुणा राम्रो बनाउन सक्छौँ। त्यसैले हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका हौँ,’उनले भने।
स्रोत र साधनले भरिपूर्ण भए पनि नेपाल सधैँ गरिब हुनुमा पुराना ठूला दलहरू जिम्मेवार रहेको आरोपसमेत परियारले लगाए। ‘नेपाल किन सधैँ गरिब छ ? यसको जवाफ कांग्रेस, एमाले र माओवादीलाई सोध्नुपर्छ,’उनले भने।
यही क्रममा उनले भिजिट भिसा प्रकरणमा सँगै रहेको माओवादीले साथ छोडेपनि रास्वपा नझुक्ने बताए। ‘एउटै मुद्दामा एउटा राजनीतिक दल पनि हामीसँगै थियो। त्यो पार्टीले जनताको पक्षमा उभिन्छ भन्ने सोचेका थियौँ। तर उसले साथ छोड्यो। हामी संख्यामा साना छौँ होला तर यो मुद्दा रास्वपाको मात्र होइन, हरेक नेपालीको घरघरको मुद्दा हो। त्यसैले हामी यो मुद्दाबाट पछि हट्दैनौँ,’परियारले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया