काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धार प्रक्रिया सुरु हुने भएको छ । भारत सरकारको सहयोगमा नेपाली नागरिकलाई उद्धार गरिने परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जानकारी दिइन्।
‘इरानमा रहेका १६ जना नेपालीको उद्धारका लागि मैले भारत सरकारसँग आग्रह गरेकी छु। हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ,’मन्त्री देउवाले भनिन्।
उनका अनुसार नेपाल सरकारको निर्देशनअनुसार भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा पनि भारत सरकारसँग निरन्तर सम्पर्क र समन्वयमा छन्।
तेहरानस्थित भारतीय दूतावासले आफ्ना नागरिकको उद्धार कार्य अघि बढाइरहेको छ। सोही क्रममा उक्त दूतावासले इरानमा रहेका नेपालीलाई पनि सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानस्थित भारतीय दूतावासका उपप्रमुखसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया