मन्त्रीहरूप्रति योगेशको असन्तुष्टि- ‘सदनभन्दा तपाईँहरूको अरू महत्त्वपूर्ण काम के हुन्छ ?’

लोकपथ
420
Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसदप्रति मन्त्रीहरू गैरजिम्मेवार देखिएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचिव भट्टराईले एकै पटक १० वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल गर्नु परेको अवस्था मन्त्रीहरूको गैरजिम्मेवारीका कारण उत्पन्न भएको बताए ।

‘आज यो १० वटा मन्त्रालय कसरी पुग्यो ? हिजो केही मन्त्रीहरू आउनुभएन, अस्ति पनि केही आउनुभएन । थपिँदै थपिँदै १० वटा मन्त्रालयको छलफल एकै दिन गर्नुपर्ने स्थिति आयो,’ उनले भने, ‘संसद चलिरहेका बेला विनियोजन शीर्षकमाथि छलफल भइरहेको बेला त्योभन्दा महत्वपूर्ण अरू के काम होला ? यहाँ नआएर अन्तै जानुपर्ने के पर्‍यो होला ?’

संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाएको र मन्त्रीहरूलाई प्रधानमन्त्री तथा संसदप्रति जवाफदेही बनाएको उल्लेख गर्दै भट्टराईले मन्त्रीहरूलाई गम्भीरतापूर्वक संसदमा सहभागिता जनाउन आग्रह गरे ।

‘जब हामी संसदमा उपस्थित भएर गम्भीरतापूर्वक भाग लिँदैनौँ, आफैंले प्रस्तुत गरेका विधेयकहरूमा पनि गम्भीरता देखाउँदैनौँ भने विधायकीय काम कसरी अघि बढ्छ ?’ उनले प्रश्न गरे ।

सचिव भट्टराईले मन्त्रीहरूलाई समयमै संसदमा उपस्थित भई विधेयकहरूमा सक्रियतापूर्वक सहभागिता जनाउन सुझावसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?