सरकार निरंकुश भयो, बलजफ्ती संसद् चलाउँदा लोकतन्त्रलाई गिज्यायो : माधव सापकोटा

लोकपथ
203
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६औँ योजनाको उद्देश्य र सोचसँग मेल नमिलेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्र स्पष्ट नभएको भन्दै आलोचना गरे ।

सांसद सापकोटाले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवादित बक्यौता रकम उठाउनेबारे बजेटमा स्पष्ट योजना नदेखिएको भन्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराए । उनले यस विषयमा गम्भीरता नअपनाए राष्ट्रप्रति घात पुग्ने चेतावनी समेत दिए ।

उनले बजेटमा उल्लेख गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था गम्भीर कमजोरी भएको उल्लेख गर्दै यसले ऊर्जा क्षेत्रलाई धरापमा पार्ने बताए । ‘टेक एण्ड पे प्रस्तावबाट सरकारले पछि हटेर ऊर्जा क्षेत्रको वातावरण सुधार गर्नुपर्ने आवश्यकता छ,’सांसद सापकोटाले भने ।

सापकोटाले बजेट र विनियोजन शीर्षकहरू १६औँ योजनाका तीन प्रमुख उद्देश्य-सुशासन, सामाजिक न्याय र समृद्धि-सँग मेल नखाने दाबी गरे । उनले भने, ‘सुशासनका लागि कुन ढंगले काम हुन्छ भन्ने स्पष्ट मार्गचित्र छैन । सामाजिक न्यायका क्षेत्रमा समेत योजना अस्पष्ट छ । यस्तो अवस्थामा समृद्धि हासिल गर्न सकिँदैन ।’

सांसद सापकोटाले विरोधमा रहेका दलहरूको माग सम्बोधन गर्दै संसद् सञ्चालनमा देखिएको बलजफ्ती र निरंकुश शैलीप्रति असन्तोष व्यक्त गरे । उनले भने, ‘बलजफ्ती ढंगले संसद् चलाउनु न लोकतान्त्रिक पद्धतिसँग मेल खान्छ, न संसद्को गरिमा बढाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?