काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सिस्टममै समस्या भएकाले देशमा एकपछि अर्को काण्डहरू भइरहेकाे बताएका छन् ।
शुक्रबार जनसंगीत मञ्च नेपालको केन्द्रीय कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव भुसालले व्यवस्थागत समस्याले रोजगारी र सुशासनको संकट गहिरिँदै गएको धारणा राखे ।
‘लगातार एउटा पछि दुईटा काण्ड भएपछि सकिनु नि त्यो हुँदैन । हाम्रो सिस्टममै समस्या छ,’ भुसालले भने, ‘रोजगारी र सुशासन नहुँदा आजका सबै समस्या सिर्जना भएका हुन् ।’
रोजगारीको समस्या करार सेवामार्फत केही कार्यालयहरूमा नियुक्ति दिँदैमा समाधान नहुने उल्लेख गर्दै उनले कृषि, उद्योग र पर्यटन क्षेत्रमा नयाँ रोजगारी सिर्जनामा सरकारले ध्यान दिनुपर्ने बताए ।
उनका अनुसार, कृषिमा आत्मनिर्भरता नहुँदा, औद्योगिक क्षेत्र कमजोर रहँदा र पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव हुँदा रोजगारीको अवस्था चिन्ताजनक बनेको छ ।
‘कृषि गरेर मानिसहरूले जीवन धान्न, बच्चाबच्ची पढाउन, औषधि उपचार गर्न सक्ने अवस्था छैन । उद्योग त पाँच प्रतिशत मात्र योगदान छ अर्थतन्त्रमा । पर्यटनमा पनि बाटो छैन, प्लेन छैन, त्यसको विकल्प र व्यवस्था छैन,’ भुसालले भने ।
उनले प्राकृतिक प्रकोपपछि समेत पर्यटन पुनःस्थापनामा खास पहल नहुनु, कृषिमा आत्मनिर्भर उत्पादन हुन नसक्नु र औद्योगिक विकास कमजोर हुनु अहिलेका संकटका मुख्य कारण रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया