ग्वार्को फ्लाइओभर उद्घाटनपछि प्रधानमन्त्री ओलीले भने : ‘अब ट्राफिक जाम हट्नेछ’

लोकपथ
252
Shares

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौं चक्रपथअन्तर्गत कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभर उद्घाटन गरेका छन् ।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण गरिएको यो नेपालकै पहिलो फ्लाइओभर भएको छ ।

पाँच सय मिटर लामो अप्रोच सडकसहित ३५ मिटर स्पानको ४ लेनको यो पुल ग्वार्को चोकको सवारी चाप व्यवस्थापनका लागि २०७८ सालदेखि निर्माण थालिएको थियो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यस्तो संरचना पहिलो पटक निर्माण भई सञ्चालनमा आउनुले विकासमा नयाँ अध्याय खुलेको बताए । ‘अब ग्वार्कोको ट्राफिक जामको समस्या समाधान हुनेछ,’ उनले भने ।

सरकार बहुआयामिक र चौतर्फी ढङ्गले विकासमा लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले दैलेखमा ५० वर्ष पुग्ने मिथेन ग्यास फेला परेको, धौवादी फलाम कारखानाबाट स्वदेशमै फलाम उत्पादन सुरु हुने, कृषिको आधुनिकीकरण र नयाँ उद्योग स्थापनाबाट अर्थतन्त्र सशक्त बन्ने बताएका छन् ।

प्रधानमन्त्रीले निराशा होइन, आशा र सम्भावना देख्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘देश विकासको बाटोमा निरन्तर अघि बढिरहेको छ,’ उनले भने, ‘सुनकोसी मरिन डाइभर्सन आयोजना, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्गलगायत योजनाले नयाँ गति ल्याउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?