उपसभामुखको पत्र र भिजिट भिसा प्रकरण एउटै होइन : रास्वपा सांसद झा

लोकपथ
490
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको बताएका छन् । 

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद् परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता गरेको स्मरण गराए ।

 उनले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिदा नेपाली कांग्रेसले बचाउ मात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाए । सम्बन्धित निकायमा दर्तासमेत नभएको पत्रका विषयमा रास्वपा छानबिनमा सघाउन तयार भए पनि भिजिट भिसा प्रकरणमा कांग्रेसले त्यसो गर्नसमेत नचाहेको उनको दाबी छ ।

उनले भने, ‘उपसभामुखज्युले उहाँको हस्ताक्षरसहित भिसाको अन्तरवार्ताको लागि डेट अलि वर सारिदिनुस् भनेर अमेरिकी राजदूतावासलाई लेखेको जुन पत्र थियो त्यो पत्र उहाँको हस्ताक्षरसहित रहेको पत्र यो परिसरभन्दा बाहिर नै निस्किएको थिएन । अर्को भिसाको लागि या भिजिट भिसाको लागि थिएन । अन्तरवार्ताको लागि मिति सारिदिनुस् भन्ने थियो । दोस्रो सम्बन्धित निकायमा त्यो पत्र दर्ता नै भएन । त्यो पत्र यत्तिकै संयन्त्रमा रह्यो र आगामी दिनमा यस्तो नहोस् भन्ने भयो । त्यसैले गर्दा यो परिसरभन्दा बाहिर गएकै छैन र सम्बन्धित निकायमा दर्ता भएको छैन भनेर सम्बन्धित निकायले नै प्रष्टिकरण दियो । उहाँको आफ्नै स्वीकारोक्ति त्यसपश्चात, मैले गल्ती गरेँ, यो लेख्न नहुने रहेछ । मबाट भूल भयो भनेर उहाँले त्यही बेला र आगामी दिनमा म यस्तोमा सचेत रहनेछु भनेर स्विकार्नुभयो । त्यही बेला राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक लेटरहेडमा पत्र निकाल्यौँ कि यदि उहाँबाट केही गल्ती भएको छ भने अनुसन्धान गर्नुस् हामी सघाउँछौँ भनेर भनेका थियौँ । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पार्टीले त्यसो गरेको छ र ?’

उपसभामुख बनेसँगै साधारण सदस्यसमेत नरहने व्यवस्था भए पनि रास्वपाले अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?