काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्मका लागि आन्दोलन स्थगित गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले हालसम्म जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो ।
असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले चार बुँदे घोषणापत्र जारी गर्दै सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष किसान सुनारले पत्रकार सम्मेलनमा बोल्दै सरकारसँग भएका विगतका सहमति र प्रतिबद्धताको सम्मान गर्दै हाल भइरहेको आन्दोलनलाई असार मसान्तसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
अध्यक्ष सुनारले तय गरिएको म्यादभित्र माग सम्बोधन नभए संयुक्त संघर्षमार्फत सशक्त आन्दोलन सुरु गर्ने चेतावनी पनि दिए ।
महासंघले सुनचाँदी, हिरा तथा बहुमूल्य धातुका गहनासम्बन्धी नीति निर्देशिका छिटो लागू गराउन समेत पहल गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया