आपराधिक छविका उम्मेदवारको दबदबा

काठमाडौं, २० कात्तिक- मोरङमा सञ्चारकर्मी कुटपिट घटनामा फरार रहँदा एमाले नेता पर्शुराम बस्नेतले तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराप्रति व्यंग्य गर्दै भनेका थिए, ‘पर्शुराम गृहमन्त्रीसँग त डराउँदैन । प्रहरी त गृहमन्त्री मातहतका हुन् । किन डराउने ? ’एमालेकै ठूला नेताको संरक्षणमा ठेक्कापट्टा सञ्चालन गर्दै आएका बस्नेतले मोरङमा गुन्डाराजलाई बढावा दिँदै आएका थिए । अहिले उनै बस्नेतलाई एमालेले मोरङ-६ बाट प्रदेशसभा प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको छ । बस्नेतले जिते हिजो एमालेको सामान्य कार्यकर्ता रहेका बेला र पछि शक्तिमा आउँदा उनले कुन हदसम्म शक्ति दुरुपयोग गर्लान् ? यो प्रश्न अहिले सुरक्षाकर्मीमाझ उब्जिएको छ । बस्नेतविरुद्ध विशेष अदालतमा अवैध रुपमा अकुत सम्पत्ति आर्जनको मुद्दा पनि चलिरहेको छ बस्नेत मात्रै होइन । एमालेले आपराधिक पृष्ठभूमिका दीपक मनाङेलाई मनाङबाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको थियो । चौतर्फी विरोध भएपछि मनाङे एमालेबाटै बागी उम्मेदवारका रूपमा चुनाव लड्ने भएका छन् । गुन्डागर्दी, ज्यानमार्ने उद्योग, अपहरण, चन्दा असुलीलगायत अभियोग लागेर जेल सजाय भोगेका मनाङेलाई एमाले अध्यक्ष केपी ओलीले माला लगाएर पार्टी प्रवेश गराएका थिए, अन्नपूर्णमा  खबर छ -। अपराधमा राजनीतिक संरक्षण र अपराधको राजनीतिकरणको नमुनाका रूपमा मनाङेको उदय भएपछि सुरक्षा निकायसमेत झस्केका छन् अर्का गुन्डा नाइके गणेश लामा काभ्रे-१’ख’ बाट प्रदेशसभा सदस्यका लागि कांग्रेसबाट उम्मेदवार बनेका छन् ।विजय गच्छेदारको लोकतान्त्रिक फोरममा रहेका उनी फोरम कांग्रेसमा प्रवेश गरेपछि कांग्रेसका उम्मेदवार बनेका हुन् । मनाङेजस्तै आपराधिक पृष्ठभूमिका लामाविरुद्ध अहिले अकुत सम्पत्तिमा मुद्दा चलिरहेको छ । काठमाडौंका अधिकांश प्रहरी प्रमुखले लामालाई नसमातेको सायदै होला, आपराधिक क्रियाकलाप गरेको आरोपमा कांग्रेसले प्युठान-२ बाट विवादास्पद पृष्ठभूमिका चलचित्र निर्देशक रोज राणालाई सिफारिस गरेको छ । क्यासिनोमा लगानी र अवैध असुलीमा राणा प्रहरीभित्र गुन्डा नाइकेको सूचीमा छन् । कांग्रेसले यौनकाण्डमा मुछिएका पूर्वसांसद कृष्ण यादवलाई रौतहट-१ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको छ । आपराधिक पृष्ठभूमिका यादवसँगै कांग्रेसले रौतहट-२ बाट ज्यानमार्ने मुद्दा खेपिरहेका मोहम्मद आलमलाई सिफारिस गरेको छ सुनसरी-२ बाट कांग्रेसले आपराधिक पृष्ठभूमिका अर्का नेता हेमकर्ण पौडेललाई प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ । अपहरण मुद्दामा ६ महिना जेल बसेर छुटेका पौडेल गुन्डागर्दी र चन्दा असुलीमा सक्रिय रहेको प्रहरीको बुझाइ छ । त्यसो त कर्तव्य ज्यानमुद्दामा जेलजीवन बिताइरहेका धनुषाका सञ्जय साह ‘टक्ला’ प्रदेश नम्बर २ को धनुषा निर्वाचन क्षेत्रमा अझै पकड रहेको बताइन्छ । सञ्जयका सहयात्रीको दबदबा अझै धनुषामा रहेकाले कांग्रेस नेता विमलेन्द्र निधिलाई अप्ठ्यारो पर्ने आकलन गरिएको छ । अकुत सम्पत्तिमा सञ्जयको छानबिन चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?