रास्वपा र एसलाई जितजंगले भने– ‘पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनु’

लोकपथ
588
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गरे । उनले रास्वपा र एकीकृत समाजवादीले कांग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गरे । 

बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताए । उनले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गरे ।  

उनले भने, ‘नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु । नैतिकता तपाईँहरूमा लाग्छ कि लाग्दैन ? तपाईँको नेतालाई अख्तियारले एउटा मुद्दा लगाएको छ, एउटा पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति र अख्तियारले मुद्दा लगाउने पार्टीका अध्यक्ष संसदीय दलको नेता नै बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? हामी नेपाली कांग्रेसलाई नैतिकता सिकाउने ? यस्तो कस्तो नैतिकताको कुरा हो ? नैतिकता पहिले आफूले सिक्नुपर्ने अनि अरूलाई सिकाउनुपर्‍यो । नैतिक चरित्र बिना त देश चल्दैन होला, त्यसले नैतिक चरित्र पहिले आफ्नो राम्रो हुनुपर्‍यो, सुन्दर हुनुपर्‍यो । त्यसपछि मात्र अरूलाई भन्न पाइन्छ ।’ नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?