काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषय उठाउँदा सरकार र गृहमन्त्रीले आन्दोलनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले गृहमन्त्री रमेश लेखकले संसद्को रोष्ट्रमबाट भुइँ मान्छेहरूको आवाजमाथि कटाक्ष गरेको टिप्पणी गरे ।
ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरो किन हटाइएको भन्ने प्रश्नको पनि गृहमन्त्रीबाट कुनै जवाफ नआएको बताए । उनले विमानस्थलभित्र अनुसन्धान गरिएको, अनावश्यक कर्मचारी थपिएको, सचिवालयका कर्मचारीको सरुवा तथा डीआईजीहरुको सरुवाजस्ता विषयमा पनि सरकार मौन रहेको आरोप लगाए ।
‘हामीहरूको आन्दोलन जारी छ’, उनले भने, ‘गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म हाम्रो अडान कायमै रहनेछ ।’
सांसद ढकालले स्याङ्जाको आँधी खोलामा भइरहेको चरम दोहनविरुद्ध आवाज उठाउँदा रास्वपाका केन्द्रीय सदस्य तथा नदी संरक्षण अभियन्ता मेघ आले र नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि आक्रमण भएको घटनालाई पनि सदनमा उठाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया