इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ

लोकपथ
329
Shares

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ का १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ का ३७ वर्षीय सरेश गुरुङ रहेका छन् ।

दर्शनले इटाली पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ६ लाख रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए । यस्तै, सरेशले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ४ लाख रुपैयाँ लिएको उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई बुधबार काठमाडौं–७ बाट र सरेशलाई मंगलबार काठमाडौं–२६ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?