खानेपानी मन्त्रालयले गरेको निर्णयमा जाइकाको आशंका, गर्यो सिफारिस रद्ध

लोकपथ
308
Shares

काठमाडौं । खानेपानी मन्त्रालयले गरेको सिफारिसलाई जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अस्वीकार गरिदिएको छ ।

जाइकाले तालिमका लागि गरेको आह्वानमा सरकारले आधिकारिक रुपमा गरेको सिफारिसमा जाइकाले अस्वीकार गरेपछि समस्या उत्पन्न भएको हो ।

जाइकाले गत अप्रिल १७ मा खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै ‘पानीको आपूर्ति प्रणालीसम्बन्धी बहत् इन्जिनिइरिङ’ शीर्षकको प्राविधिक तालिमका लागि एक जना योग्य उम्मेदवार मनोनयन गर्न मन्त्रालयलाई आग्रह गरेको थियो ।

यो तालिम जापानको साप्पोरोमा जुन १७ देखि अगस्ट ९ सम्म सञ्चालन हुने तय थियो ।

तर मन्त्रालयले भने तालिमका लागि पहिलो नम्बरमा रहेकालाई अयोग्य ठहर गर्दै वैकल्पिकमा रहेका सव–इन्जिनियरलाई पठाउन खोजेको थियो । पहिलो नम्बरमा मनोनयन गरेका एक वरिष्ठ इन्जिनियरलाई अयोग्य ठहर गर्दै उनको ठाउँमा सब(इन्जिनियरलाई पठाउन खोजेपछि समस्या सतहमा देखिएको हो ।

जाइकाको पत्र प्राप्त भएपछि मन्त्रालयले गत वैशाख १७ गते खानेपानी संस्थानका वरिष्ठ इन्जिनियर दीपक श्रेष्ठलाई मन्त्रालयले मुख्य उम्मेदवारका रूपमा मनोनयन गर्‍यो । साथै, दुई जना सव–इन्जिनियरलाई वैकल्पिक उम्मेदवारको सूचीमा राखेर पठाएको थियो । सरकारी निकायले गरेको आधिकारिक निर्णयमा आपत्ति जनाउँदै जाइकाले वैकल्पिक सूचीमा रहेका दुई जना सव–इन्जिनियरमध्ये एकलाई छनोट गर्न भनेको हो । सरकारी निकायले गरेको निर्णयमा दातृ निकायले सम्मान गर्ने प्रचलन भए पनि जाइकाले विभिन्न आशंका गर्दै स्थापित मान्यता तोड्न खोजेको भन्दै मन्त्रालयका अधिकारीहरुले आपत्ति जनाएका छन् ।

त्यसको पछाडी राजनीतिक हस्तक्षेपको आशंका गरिएको छ । खानेपानी मन्त्रीको समेत त्यसमा संलग्नता रहेको आरोप लगाइएको छ ।

यता सरकारले आफ्नो सिफारिस बिनाकारण रद्ध भएपछि इन्जिनियर दीपक श्रेष्ठले जाइकालाई इमेलमार्फत आफ्नो व्यवसायीक करियरमा गम्भीर असर गरेको भन्दै पत्र पठाएका छन् । साथै त्यसबारेमा जाइकासँग स्पष्ट कारण र जवाफ समेत माग गरेका छन् ।

‘मन्त्रालयले पहिलो नम्बरमा सिफारिस गरेको योग्य र पुरस्कृत कर्मचारीलाई अस्वीकार गरिनु मेरो लागि अत्यन्तै चिन्ताको विषय हो। यसले मलाई असक्षम र अयोग्य पेशाकर्मीको रूपमा चित्रित गरेको छ,’ उनले इमेल लेख्दै भनेका छन् ।

यता जाइकाले उनलाई स्पष्ट पार्दै पत्र पठाएको छ ।

जाइकाले उम्मेदवारको अस्वीकृतिलाई अक्षमताको रुपमा हेर्न नहुने भन्दै ‘कम प्राथमिकता’मा मात्रै राखिएको बताएको छ । जाइकाले यो तालिम फिल्डमा काम गर्ने कर्मचारीका लागि लक्षित भएकाले उनीहरूलाई प्राथमिकता दिन अस्वीकार गरिएको तथा श्रेष्ठले यसअघि पनि जापान भ्रमण गरेकाले अरुलाई अवसर दिन खोजिएको तर्क गरेको थियो । यता इन्जिनियर श्रेष्ठ भने आफूले यसअघि ७ दिनको फरक विषयको तालिम लिएको भन्दै यसलाई यो विषयसँग जोड्नुको अर्थ नरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?