नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : मन्त्री गुरुङ

लोकपथ
77
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् । 

बुधबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

उनले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताए । उनले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको दाबी गरे ।  

उनले सार्वजनिक सेवा प्रसारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको बताए ।  

उनले रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रसारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिए । मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाललाई पनि सबै भाषामा कार्यक्रम प्रसारण गर्ने दिशामा लैजाने योजना रहेको बताए । 

उनले भने, ‘नेपाल सरकारले सार्वजनिक सेवा प्रसारण ऐन बनाइसकेको छ । त्यसको पहिलो उद्देश्य नै पिपुल फस्ट, नेशन फस्ट हो । त्यसमा आधारित भएर हामीले कार्यक्रमहरू बनाउने, न्युजहरूको प्रसारण गर्ने कुरा हुन्छ ।  साउथ एसियामा नेपाल पहिलो देश होला, पीएसबीको पहिलो देश त म भन्दिन, हामी अगाडी नै छौँ । इण्डियापछि हामी नै होला ।  पीएसबी लागु हुने क्रममा नै गोरखापत्रमा ४५ भाषामा अतिरिक्त समाचार प्रकाशित हुन्छ । त्यो संसारको कुनै पनि देशमा छैन होला जस्तो लाग्छ मलाई । रेडियो नेपालमा २५ वटा नेपाली भाषामा समाचार प्रसारण हुन्छ । राससमा मैथिली र नेपाल भाषामा पनि जोडेका छौँ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई नेपालमा बोलिने सबै भाषाको समाचार तथा कार्यक्रम प्रसारण हुने बनाउने अभियानमा छौँ हामी । सायद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि कुनै क्षेत्र समावेशी छ भने सञ्चार र सूचना प्रविधि क्षेत्र मात्रै हो ।’

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समावेशिताको मूल इपिसेन्टर रहेको समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?