इलाम । इलाममा १५ दिने अभिनय कार्यशाला सुरू भएको छ। सूर्योदय नगरपालिका-१० स्थित फिक्क्ल नमुना माध्यमिक विद्यालयका कक्षा ६ देखी १० कक्षा सम्मका २६ जना विद्यार्थी अभिनय कार्यशालामा सहभागी छन्।
असार १ देखि सुरु भएको कार्यशाला असार १५ सम्म चल्नेछ। कार्यशाला राइटर्स ईन्टरनेसनल ग्लोबल कमिटीको आयोजना तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको हो।
कार्यशालाको उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाबहादुर बरालले यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुर्याउने बताए । उनले आगामी दिनमा पनि नगरपालिका स्तरबाट यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट सुनिश्चित गरिने उल्लेख गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रशिक्षक पुरू लम्सालले स्थानीय तहमा यस्तो कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउँदै, सहभागी विद्यार्थीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिन अनुरोध गरे ।
वरिष्ठ गीतकार तथा राइटर्स ईन्टरनेशनल ग्लोबल कमिटिका अध्यक्ष ज्ञानेन्द्र गदालले आर्थिक अभावका कारण सरकारी विद्यालयहरूमा यस्ता कार्यक्रम कम सञ्चालन हुने भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गरिने प्रतिबद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रम सभापति गंगाबहादुर महतले यस्ता कार्यशालाले विद्यार्थीहरूलाई शैक्षिक मात्र होइन, कलात्मक र व्यवहारिक रूपमा समेत सक्षम बनाउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया