युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्व : अध्यक्ष दाहाल

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवर्द्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताए ।  

उनले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्ने बताए ।  

नेपाली युवामा रहेको नवीन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्न जरुरी रहेको भन्दै युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउन आवश्यक रहेको उनको भनाइ छ  । 

युवाहरूको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्व भएको बताए । समयसापेक्षा रूपमा जनताको आवश्यकता र समस्या समाधान गर्न सक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन जरुरी रहेको बताए ।  

अध्यक्ष दाहालले सूचना र प्रविधिका नवीन प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्दै कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्न आग्रह गरे ।

सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा,डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमनमा समेत जोड दिनुपर्ने बताए । नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै वैज्ञानिक आविष्कारहरूलाई उद्यमशीलतामा परिणत गर्न जुट्नुपर्ने उनको भनाइ छ ।

अनुसन्धान र आविष्कारको क्षेत्रमा प्रगति गर्न शिक्षा क्षेत्रमा नीतिगत स्पष्टता, उद्योग र अनुसन्धान संस्थानहरूबिच समेत समन्वय र सहकार्यलाई बढाउन आवश्यक रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?