संघर्षपूर्ण खेलमा स्कटल्यान्डविरुद्ध नेपालको जित

लोकपथ
1.3k
Shares

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ । मात्रै ९८ रनको लक्ष्य पाएको नेपालले १ बल बाँकी छँदा लक्ष्य भेट्टाएको हो ।

नेपालले टस जितेर पहिले बलिङ रोजेपछि स्कटल्यान्डमा ब्याटिङमा उत्रिँदा १६ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । ३ दशमलव ४ ओभरमा केवल १६ रनमा ४ विकेट गुमाएको स्कटल्यान्ड २४ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।

स्कटल्यान्डले १९.४ ओभरमा मात्र ९७ रन बनाउन सक्यो । नेपाली बलरहरूले सुरुदेखि नै स्कटल्यान्डमाथि दबाब बनाएका थिए । स्कटल्यान्डले ५ ओभरभित्र नै ५ विकेट गुमाउनु परेको थियो । खेलमा माइकल लिस्कले ४४ रन बनाएर टोलीको स्कोर केही अगाडि बढाउने कोसिस गरे पनि सम्मानजनक स्कोर थिएन । लिस्कबाहेक अन्य ब्याट्सम्यानहरूले ब्याटिङ जम्न सकेन । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा एक मेडन विकेट लिएर केवल ११ रन दिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए ।

नेपालको संघर्षपूर्ण जीत
केवल ९८ रनको लक्ष्य पाएको नेपालले पनि जीतका लागि धेरै संघर्ष गर्नु पर्‍यो । नेपालले ६ ओभरको पावर प्ले मा २ विकेट गुमाएर ३१ रन बनाएको थियो । त्यसपछि भने नेपालले राम्रो प्रदर्शन गर्न सकेन । यद्यपि कुशल भुर्तेलले ३० रन बनाएर टोलीलाई जीततर्फ डोराएका थिए । टोलीको जितमा दीपेन्द्रसिंह ऐरीले १४ रन, बसिर अहमदले १३ रन र किरण ठगुन्नाले १० रनको योगदान गरे । अन्तिम समयमा करण केसीले तीन बलमा तीन रन लिए भने १ बल बाँकी छँदा सन्दीप लामिछानेले एक रन लिँदै नेपाललाई जित दिलाए ।

अर्को खेल नेदरल्याण्ड्ससँग
नेपालको आगामी खेल नेदरल्याण्ड्ससँग रहेको छ । यसअघि पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो । अब बिहीबार नेदरल्याण्ड्ससँग खेल्ने नेपालले यसपटक अघिल्लो हारको बदला लिने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?