काठमाडौं । हाल देशभर मौसमी प्रणाली सक्रिय रहेकाले आज विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको साथमा पश्चिमी वायु र स्थानीय वायु समेत एकसाथ सक्रिय भई देशभर मौसम बदलीको अवस्था देखिएको छ ।
मौसमविद्हरूका अनुसार मनसुनी वायुले देशका पूर्वी र मध्य भूभागमा प्रभाव जमाएको छ भने पश्चिमी वायुले देशको पश्चिमी भागमा आंशिक प्रभाव जमाएको छ । त्यसकै कारण अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना प्रबल रहेको जनाइएको छ ।
आज दिउँसो र रातिसम्म यी पाँचवटै प्रदेशका केही भूभागहरूमा धेरै भारी वर्षा हुने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ ।
यस्तै, बागमती प्रदेशका थोरै स्थानहरू र कोशी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षा भइरहेको र सो स्थिति बेलुकासम्म रहने सम्भावना रहेको पनि जानकारी दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ । बाढी, पहिरो, खोला खोल्सामा आकस्मिक पानीको बहाव वृद्धि, सडक अबरुद्ध तथा हवाइ उडान अवरुद्ध हुने सम्भावनालाई गम्भीर रूपमा लिन महाशाखाले आग्रह गरेको छ ।
जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र मौसम अपडेटबारे जानकारी राख्न समेत अनुरोध गरिएको छ । साथै, सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न मौसम विभागको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया