वरुण वेभरेज : उत्कृष्ट करदाता, पेय पदार्थमा धान्छ ४० प्रतिशत माग

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेजको आफ्नै पहिचान छ । एउटा बहुराष्ट्रिय कम्पनीको नाताले हजारौँलाई रोजगारी, राज्यको राजस्वको मुख्य स्रोत, पेय पदार्थमा आत्मनिर्भरता आदी आदी ।

नेपालमा २ वटा प्लान्ट स्थापना गरेर पेप्सी लगायत विभिन्न पेय पदार्थहरुको उत्पादन वरुण वेभरेजले गर्ने गरेको छ । काठमाडौंको पेप्सीकोला र पश्चिम नवलपरासीमा गरी दुई वटा प्लान्टबाट विभिन्न पेय पदार्थहरुको उत्पादन गर्दै आइरहेको छ ।

स्थापनाको २६ वर्षमा यो किसिमको सफलता र आगामी दिनमा समेत व्यवसाय विस्तार गर्ने तयारीमा वरुण वेभरेज रहेको छ ।

कम्पनी निर्माणको पृष्ठभूमी

नेपालमा ०४६ को राजनीतिक परिवर्तनसँगै उदारीकरण र बाह्य लगानीको क्रम सुरु भयो । सन् १९९० तिरै नेपाल प्रवेश गरेको वरुण वेभरेजले सन् १९९८ अर्थात् २०५५ सालमा पेप्सीका उत्पादनहरूका लागि प्लान्ट स्थापना गरी नेपालबाट समेत सेवा र व्यापार बिस्तार गर्‍यो । भारत र चीनमा आक्रामक व्यापार गरिरहेको अवस्थामा नेपाली बजारको माग धान्न नेपालमा नयाँ प्लान्ट स्थापना गरी उसले उत्पादन सुरु गरेको थियो ।

नेपालमा रहेको वरुण वेभरेज नेपाल, भारतको वरुण वेभरेज लिमिटेडको शतप्रतिशत सेयर स्वामित्व रहेको बहुराष्ट्रिय कम्पनी हो । आफ्नो उत्पादनको बजार बिस्तारमा आक्रामक बनी त्यसकै व्यापारको आडमा नेपालमा बढी कर तिर्ने कम्पनीमध्ये अग्रस्थानमा रहेको कम्पनी समेत हो, वरुण वेभरेज प्रालि ।

सन् १९९८ मा काठमाडौंको पेप्सीकोलामा पहिलो प्लान्ट स्थापना गरेको पेप्सीले त्यसको २० वर्षपछि अर्थात् सन् २०१८ मा नवलपरासीको रामग्राममा दोस्रो प्लान्ट स्थापना गरी उत्पादन सुरु गर्‍यो । १४ बिगाहा क्षेत्रफलमा फैलिएको नवलपरासी प्लान्टमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

पेप्सी एक्लैले धान्छ बजारको ४० प्रतिशत माग

सायद थोरैले मात्र आफूले प्रयोग गर्ने चिजवस्तु उत्पादन गर्ने कम्पनीका बारेमा थाहा पाउँछन् । त्यसमध्ये धेरैले पेप्सी, स्लाइस, माउन्टेन ड्यू लगायत पेय पदार्थहरु कहाँबाट उत्पादन हुन्छ समेत थाहा पाएका हुँदैनन् ।

नेपालमा खास पेप्सी नामले परिचित कम्पनी वरुण वेभरेजले नै यतिधेरै पेय पदार्थहरु उत्पादन गर्ने गर्दछ ।

वरुण वेभरेजको मुख्य उत्पादनहरुमा पेप्सी, मिरिण्डा, माउन्टेन ड्यू, सेभेन अप, स्टिङ इनर्जी ड्रिङ्क तथा स्लाइस वरुण वेभरेजका चर्चित उत्पादन ब्रान्डहरू हुन् । त्यसबाहेक पनि नेपालमा पेप्सी कम्पनीको सोडा र एक्वाफिना ब्रान्डको पानी चर्चित र लोकप्रिय छन् ।

बजारमा वरुण वेभरेजका आफ्नै उत्पादनहरुले एकसँग अर्कोले प्रतिष्पर्धा गरिरहेका छन् । जसकारण दिनानुदिन माग बढिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पेप्सीले नेपालमा पेय पदार्थको बजारको कुल मागमध्ये ४० प्रतिशत माग एक्लैले धानिरहेको छ ।

अन्य कम्पनीका पेय पदार्थलाई टक्कर दिन आक्रामक रूपमा लगानीको रणनीति बनाएको वरुण वेभरेजले छोटो समयमा नै दोस्रो प्लान्ट समेत स्थापना गर्न सफल भयो ।

सामाजिक उत्तरदायित्वदेखि उत्कृष्ट करदातासम्म

एउटा बहुराष्ट्रिय कम्पनी जसको एउटा उदेश्य नाफा कमाउनु पक्कै हो । तर बरुण वेभरेज नाफा कमाउने काममा त छदैँछ, त्यसको साथसाथै सामाजिक उत्तरदायित्व र उत्कृष्ट करदाता पनि हो ।

वरुण वेभरेजले विभिन्न तरिकाबाट सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ । त्यसको एउटा उदाहरण काठमाडौंको सिनामंगलमा रहेको आरु क्लिनिकलाई लिन सकिन्छ । जहाँ निशुल्क स्वास्थ्य परीक्षण, ल्याब टेस्ट र औषधिसमेत वितरण गरिरहेको छ । त्यसको अलवा वरुण वेभरेजले विभिन्न समयमा विभिन्न स्थानमा ‘हेल्थ क्याम्प’ हरु सञ्चालन गरिरहेको छ ।

उत्कृष्ट करदाता

वरुण वेभरेजले नेपालमा कम्पनी स्थापना गरेर रोजगारी मात्र सिर्जना गरेको छैन । वार्षिक रुपमा सरकारले पाउने करको ठूलो हिस्सा समेत ओगटेको छ ।

वरुण वेभरेज आर्थिक वर्ष ०७९–०८० मा धेरै कर तिर्ने कम्पनीमध्ये उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको थियो । २०८१ साल मंसिर १ गते कर दिवसका अवसरमा वरुण वेभरेज उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको थियो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?