काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराधमा संलग्नहरूको छानबिनको लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याउन लागेका विधेयकहरूको महत्त्व आफूहरूले बुझ्ने बताए । उनले विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको बताउँदै सरकारले पनि आफूहरूका मागलाई सुन्नुपर्ने बताए ।
उनले उक्त प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान रहेको जिकिर गरे । उनले यो आफूहरूको मात्रै नभएर १८ वर्षदेखि ठगिँदै आएका र अब ठगिनु नपरोस् भन्ने जनताको माग रहेको समेत बताए ।
उनले भने, ‘यो विधेयकहरूको महत्त्व हामी बुझ्छौँ । त्यसमा राजनीतिक महत्व छ तर अहिले हामी जसरी उहाँहरूले ल्याउँदै गरेको विधेयकमा राजनीतिक समर्थन गर्न तत्पर छौँ, त्यसरी नै उहाँहरूले हामीहरूले प्रस्तुत गरेको भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराध र सबै संलग्नताहरूको बारेमा आवश्यक छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति हामीले भनेका छौँ, त्यसको मागलाई पनि तपाईँहरूले तपाईँहरूले सुनिदिनुपर्यो । यो हाम्रो मात्रै होइन, जनता १८ वर्षदेखि ठगी रहेको र अब ठगिनु नपरोस् भन्ने माग हो । त्यसलाई पनि सुनिदिन हाम्रो अनुरोध छ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसद्मा अवरोध जनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया