संसदमा ‘निलो रिबन’ भिरेर जान मिल्छ कि मिल्दैन ? यस्तो छ व्यवस्था

लोकपथ
3k
Shares

काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु ‘निलो रिबन’ सहित प्रस्तुत भए ।

रास्वपाका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विरोध जनाइउँदै आइरहेका छन् । आज भने ‘निलो रिबन’ सहित विरोध जनाएपछि रास्वपा सांसदहरुले अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई निष्काशन गर्नुपर्नेसम्मका मागहरु संसदमा उठेका छन् । बैठकमा आपत्ति जनाउँदै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले उनीहरुलाई बैठकबाटै निष्काशन गर्न माग गरे ।

‘संसदमा मर्यादित पोषाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसदमा अहिले केही माननीय सदस्यहरुले स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोषाकभित्र पर्छ कि पर्दैन रु यदी भोली कोही यहाँ हाफ पाइन्ट मात्रै लगाएर आउने, भोली कोही जथाभावी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसदको मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ उनले भनेका थिए, ‘ यस्तो किसिमको क्रियाकलाप गर्नेहरुलाई सभामुखले चेतावनी दिने, संसदबाट निष्काशन गर्ने गरी कारबाही पनि गर्नुपर्ने आवश्यक छ भन्ने कुरा म सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’

घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम ३० र ३१ बमोजिम उनीहरुलाई कारबाही गर्नुपर्ने माग अघि सारेका हुन् । त्यसो त केही दिनदेखि रास्वपाले विरोध गरिरहँदा समेत बैठक बस्ने गरेकोमा घिमिरेको ध्यानाकर्षणपछि भने सभामुख देवराज घिमिरेले बैठक नै आधा घण्टा रोकेर त्यसबारे छलफल सुरु गरे । यसअघि रास्वपाले ‘वेल’ घेरेर विरोध जनाउँदा समेत सभामुखले छलफललाई अघि बढाएका थिए । तर आज भने उक्त निलो रिबनका विषयमा छलफल गर्न बैठक नै रोकिएको हो ।

प्रतिनिधि सभा नियमावलीमा के छ व्यवस्था ?

प्रतिनिधि सभा नियमावली २०७९ ले भने पोषाकको विषयमा स्पष्ट व्यवस्था गरे पनि रास्वपा सांसदहरुले लगाएको ‘निलो रिबन’ लगायत विरोधका सांकेतिक चिह्नहरुबारे भने केही बोलेको छैन ।

प्रतिनिधि सभा नियमावलीको नियम २४२ मा ‘पोशाक र प्रतीक चिह्न’ बारे व्यवस्था गरिएको छ । नियमावलीको नियम २४२ को उपनियम (१) मा भनिएको छ, ‘सदस्यको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुनेछ ।’

त्यस्तै त्यसको व्याख्या उपनियम २ मा गरिएको छ । जहाँ भनिएको छ, ‘उपनियम १ बमोजिम पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक समेतमा ध्यान दिनुपर्दछ ।’

त्यस्तै प्रतीक चिह्न नेपालको संविधानको अनुसूची ७ मा व्यवस्था भए अनुसार हुन पर्छ भनिएको छ ।

नियमावलीमा सांसदको निष्काशनबारे के भनिएको छ ?

यता प्रतिनिधि सभा नियमावलीमा भने अभद्र व्यवहार गर्ने सांसदहरुलाई संसदको बैठक हलबाट निष्काशन गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ३० र ३१ मा उक्त व्यवस्था गरिएको छ । नियमावलीको परिच्छेद ६ अन्तर्गत ‘बैठकमा सुव्यवस्था’ को व्यवस्था अनुसार नियम ३० मा सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ ।

नियम ३० मा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथ तुरुन्त नियन्त्रण गर्नुपर्दछ ।’

त्यसो त नियम ३० को पालना नभएमा त्यस्ता सदस्यहरुलाई संसदबाटै निष्काशन गर्न सक्ने समेत व्यवस्था रहेको छ ।

उपनियम ३१ मा भनिएको छ, ‘बैठक कक्षबाट निष्काशन : (१) नियम ३० बमोजिमको आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’

त्यसो त सभामुखको आदेश वा निर्देशन नमान्ने सदस्यलाई सभामुखले मर्यादापालकको सहयोग लिइ बाहिर निकाल्न सक्ने व्यवस्था समेत रहेको छ । त्यसरी निकालिएको सदस्यले भने प्रतिनिधि सभा वा त्यस अन्तर्गतको कुनै समितिमा उपस्थित नै हुन नसक्ने व्यवस्था रहेको छ ।

तर रास्वपाको उक्त व्यवहार अमर्यादित हो या होइन भन्ने नियमावलीमा स्पष्ट नभएपछि सभामुखले त्यस विषयमा छलफल थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?