काठमाडौं । निरन्तर संसदमा विरोध जनाइरहेको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको बैठक अलि फरक दृष्य देखायो । आजको बैठकमा रास्वपाका सांसदहरुले ‘निलो रिबन’ को स्कार्फ लगाएर विरोध जनाएपछि त्यसबारे प्रश्न उठेको छ ।
गृहमन्त्रीको राजीनामा माग गरिरहेका रास्वपाका सांसदहरुले आज पनि उही प्रक्रिया दोहोर्याए । तर संसदमा विरोधको संकेतस्वरुप ‘निलो रिबन’ प्रयोग भएपछि भने त्यसबारे प्रश्न उठेको छ ।
यसअघिका बैठकमा रास्वपाले विरोध जनाउँदा समेत बैठक अघि बढाएका सभामुख देवराज घिमिरेले आज भने बैठक नै स्थगित गरेका छन् । ३० मिनेटका लागि बैठक स्थगित गरेर अहिले सभामुख घिमिरे ‘निलो रिबन’ का विषयमा छलफलमा जुटेको सभामुखको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए ।
‘अहिले सोही विषयमा छलफल भइरहेको छ,’ उनले लोकपथसँग भने ।
यता सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने रास्वपा सांसदहरुले अमर्यादित पोषाक लगाएको भन्दै विरोध जनाएका थिए । उनले प्रतिनिधि सभा नियमावलीको नियम ३० र ३१ अनुसार रास्वपा सांसदहरुलाई निष्काशन गर्न समेत माग गरे । त्यसपछि संसदको कामकारबाही रोकेर सभामुख घिमिरेले छलफल थालेका हुन् ।
प्रतिनिधि सभा नियमावलीले संसदमा अभद्र व्यवहार गर्ने सांसदहरुलाई सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था रहेको छ ।
साथै पोषाकका हकमा पनि व्यवस्था गरे पनि उक्त चिह्नका बारेमा भने कुनै कुरा उल्लेख गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया