सभामुखसँग कांग्रेसको माग– ‘रास्वपा सांसदहरुलाई संसदबाट निष्काशन गरौँ’

लोकपथ
6.5k
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा ‘निलो रिबन’ बाँधेर गृहमन्त्री रमेश लेखकविरुद्ध विरोध जनाएका छन् ।

यसअघि नै निरन्तर ‘वेल’ विरोध जनाइरहेको रास्वपाले आज ‘निलो रिबन’सहित विरोध जनाएको हो । साथै आफूहरुले भिजिट भिसा प्रकरणबारे निरन्तर विरोध जनाउने जनाएको छ ।

यता सत्तारुढ दल नेपाली कांग्रेसले भने रास्वपा सांसदहरुको निलो रिबनप्रति आपत्ति जनाएको छ । बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाले अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाए ।

साथै उनले निलो रिबन बाँधेर आउनु मर्यादा विपरित रहेको भन्दै त्यसबारे सभामुखले चेतावनी दिने र कारबाहीसम्म गर्नुपर्ने माग राखे ।

‘संसदमा मर्यादित पोषाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसदमा अहिले केही माननीय सदस्यहरुले स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोषाकभित्र पर्छ कि पर्दैन ? यदी भोली कोही यहाँ हाफ पाइन्ट मात्रै लगाएर आउने, भोली कोही जथाभावी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसदको मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ उनले भने, ‘ यस्तो किसिमको क्रियाकलाप गर्नेहरुलाई सभामुखले चेतावनी दिने, संसदबाट निष्काशन गर्ने गरी कारबाही पनि गर्नुपर्ने आवश्यक छ भन्ने कुरा म सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यता रास्वपा भने विरोधलाई जारी राखेको छ । त्यसअघि बोलेकी रास्वपा सांसद डा. चन्दा कार्कीले आफूहरुले निरन्तर विरोध गर्ने चेतावनी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?