सशस्त्रका एसएसपी कर्णजीतमाथि नर्वेजियन महिलालाई अभद्र व्यवहार गरेको आरोप, यूएन मुख्यालयले लेख्यो पत्र

लोकपथ
19.2k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिएका सशस्त्र प्रहरी बलका एसएसपी रवीन्द्रराज कर्णजितमाथि गम्भीर आरोप लागेको छ । 

११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका एफपीयू कमान्डर कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि युएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको हो । 

उनीमाथि त्यहाँको एक रेस्टुरेन्ट (टुकुल) मा ती नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप छ । कर्णजीतको व्यवहारबाट रिसाएकी ती महिलाले त्यतिखेर नै त्यहाँ हंगामा मच्चाएकी थिइन् । तर कर्णजीतले रोईकराई गरेर उजुरी गर्नबाट रोकेको बताइएको छ । 

तर ती नर्वेजियन महिलाले पछि यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको अभद्र व्यवहारको पर्दा खुलेको हो । 

स्रोतका अनुसार, यूएन हेडक्वाटरले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई घटनाकाबारेमा मेल गरेपछि मात्रै सशस्त्र मुख्यालयले यो बारेमा थाहा पाएको थियो । 

स्रोतका अनुसार सशस्त्र मुख्यालयलाई यूएन मुख्यालयले दुई पटक पत्र पठाएको थियो । पहिलो पत्रको बेवास्ता गरेपछि यूएन मुख्यालयले दोस्रो पटक चुनौतीपूर्ण भाषा उल्लेख गरेर दोस्रो पत्र पठाएको स्रोतको दाबी छ । 

यो घटनालाई लिएर सशस्त्र मुख्यालय गम्भीर छलफलमा रहेको स्रोतको दाबी छ ।

एसएसपी कर्णजीतको टोलीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जहरसिंह बुढाको टोलीले ‘रिप्लेस’ गरेको थियो । बुढाको टोली गत वैशाख २३ गते राति इथियोपियन एयरलाइन्सद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो । १८० जनाको  सो टोलीलाई यही वैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हार्दिक बिदाइ गरेको थियो । सशस्त्रको एफपीयू मिसन साउन सुडानको जुबामा खटिँदै आएको छ । 

अर्को एक स्रोतका अनुसार, यूएन मुख्यालयले जुबामा रहेको १८० जनाको टोलीलाई समेत फिर्ता पठाउने चेतावनीसमेत दिएको छ । 

युएनको पत्रपछि भने सशस्त्र मुख्यालयले एसएसपी कर्णजितमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?