घुमुवाले पाँच लाख उठाउँदा सशस्त्रको बाँकेका गणपतिलाई तनाव, बाहिनी कार्यालयले सोध्यो २४ घण्टे स्पष्टीकरण

लोकपथ
14.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनाललाई बाहिनी कार्यालयले स्पष्टीकरण सोधेको छ । 

सो गणबाट घुमुवाका रूपमा खटिएका एक जना सशस्त्र प्रहरी जवानसहितको संलग्नतामा एक जना मोबाइल व्यापारीसँग पाँच लाख रुपैयाँ असुली गरेको घटना सार्वजनिक भएसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र कुँवर नेतृत्वको नम्बर ५ बाहिनीले गणपति खनालसँग स्पष्टीकरण माग गरेको हो । उनलाई २४ घण्टाभित्र घटनाबारे सत्य तथ्य पेस गर्न भनिएको छ  । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरीका दुई जना सहायक हबलदार, सशस्त्र प्रहरीका एक जना जवान र अन्य दुई जना ‘पब्लिक’ मिलेर एक व्यापारीसँग ५ लाख रुपैयाँ जबरजस्ती असुल गरिएको थियो । 

पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरीबाट खटाइएका प्रहरी सहायक हबलदार मोहम्मद सफिक खान र परमानन्द कुर्मी, चौलिकास्थित सशस्त्र प्रहरी बल नं. ३० गणबाट खटिएका सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, कोहलपुर–११ निवासी मोबाइल तथा इलेकट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र आफूलाई अभियन्ता बताउने सूर्यप्रसाद रिजाल रहेका छन् ।

घटनामा संलग्न प्रहरी सहायक हबलदारहरू खान र कुर्मी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेन्द्रप्रसाद भट्ट स्वयंले घुमुवाका रूपमा बाँके र बर्दिया जिल्लामा खटाएका व्यक्ति भएको खुलेको छ । लागूऔषध नियन्त्रण ब्युरोमा दरबन्दी रहेका प्रहरीका यी दुई जना सहायक हबलदारहरूलाई डीआईजी भट्टले मौखिक रूपमा जिम्मेवारी दिएर परिचालन गरेको जनाइएको छ । सशस्त्र प्रहरी जवान चौधरीलाई भने बाँकेका गणपतिले परिचालन गरेको बुझिएको छ । 

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कनजिकै ‘थ्रीस्टार मोबाइल पसल’ सञ्चालक लक्ष्मण कुँवरबाट ५ लाख रुपैयाँ असुली गरिएको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

उजुरी दर्ता भएपछि प्रहरी सहायक हबलदार खान र कुर्मी, भण्डारी र रिजाललाई २८ जेठमा र सशस्त्र जवान चौधरीलाई २९ जेठमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार सादा पोसाकमा आएका ती व्यक्तिले आफूहरू ‘नार्कोनन अनुसन्धान विभाग’बाट आएको भन्दै डर देखाई व्यापारीलाई लागूऔषध मुद्दामा फसाउने धम्की दिँदै रकम असुल गरेका थिए ।

व्यापारीले रकम बुझाउने क्रममा भारतीय नम्बर प्लेट (यूपी५०एए ९८८५) को कारमा आएका ती व्यक्तिको गतिविधि सीसीटिभीमा कैद भएपछि घटना सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा स्थानीय गोविन्द भण्डारी र सूर्य रिजालले घुमुवा प्रहरीसँग मिलेमतो गरेको पुष्टि भएको छ ।

२१ जेठमा रकम असुली गरेका घुमुवा प्रहरीका विरुद्ध व्यवसायीले २८ जेठमा उजुरी दिएका थिए । पक्राउ परेका पाँचै जनाविरुद्ध ‘आपराधिक लाभ’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ । रकम बुझाउने व्यवसायीका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यता, घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरका प्रमुख तथा डीआईजी राजेन्द्रप्रसाद भट्टसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रदेश प्रहरी कार्यालयको सार्वजनिक मोबाइल नम्बर ९८५७०८४४४४ मा बारम्बार फोन सम्पर्क गरे पनि फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?