काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिकामा सोमबार साँझ भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आर्यभन्ज्याङ–रामपुर कच्ची सडकखण्ड अन्तर्गत वीरकोटमा लु १ च ६७५६ नम्बरको बोलेरो जीप सडकबाट करीब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको समयमा जीपमा अण्डा लोड गरिएको थियो ।
मृत्यु हुनेहरूमा जीपका मालिक बगनासकाली गाउँपालिका–१ का स्थायी बासिन्दा तथा हाल बुटवल उपमहानगरपालिका–११ मझुवामा बसोबास गर्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र स्याङ्जा गल्याङ नगरपालिका–७ का ४८ वर्षीय रेशम सुनार रहेका छन् ।
गम्भीर घाइते ढुंगानालाई तत्काल लुम्बिनी मेडिकल कलेज, प्रभासमा लगिएको भए पनि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए। सुनारको भने युनाइटेड मिसन अस्पताल, तानसेनमा मृत्यु भएको सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लले जानकारी दिए।
दुर्घटनामा सवारी चालक ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेजमै उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया