काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरीत संसद्को बैठक सञ्चलन गरेको आरोप लगाएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसक्नुभएको बताए । उनले संसदीय मर्यादा परम्परामा कुनै पनि एक सांसदले उठेर असहमति जनाइरहेको बेलामा संसद् अवरुद्ध रहेको बताए ।
भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरूलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद् भद्रगोल तरिकाले अघि बढाउनुभएको आरोप लगाए । संसद् सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताए ।
उनले भने, ‘बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाइरहनुभएको छैन । संसदीय मर्यादा परम्परामा संसद् अबद्ध भइरहेको बेलामा वा कुनै पनि एक सांसदले उठेर असहमति जनाइरहेको बेलामा संसद् अवरुद्ध मानिन्छ । पहिले दुई वटा महत्त्वपूर्ण राजनीतिक पार्टीहरूले देशको महत्त्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरूलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद् भद्रगोल तरिकाले अघि बढाउनुभएको छ । त्यो संसदीय मर्यादा र परम्परा विपरीतको काम भएकाले त्यस्तो बैठकमा सहभागी हुनु अनुचित ठानेर संसद् बैठक बहिष्कार गरेको छ । जबसम्म संसद् सही प्रकारले चल्दैन तबसम्म यस प्रकारको बैठक बहिष्कार गराइराख्छौँ । बैठकमा भाग नलिएको समयको भत्ता हामी लिँदैनौँ ।’
उनले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाए । सरकारमा बसेकाहरूको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको बताए । संख्याको दम्भमा विचार निषेध गर्ने काम भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया