बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे : सांसद ज्वाला

लोकपथ
266
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गरे । दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको आरोप लगाए ।

सांसद ज्वालाले कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गरे । साथै उनले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताए ।  

उनले भने, ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ । मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ । जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् । कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन् । केन्द्रमा ३ करोड भन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ  र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ ।’  बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको आरोप लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?