गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छ : सन्तोष परियार

लोकपथ
350
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भीजीट भीसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहेको भन्दै रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा रहेको बताए ।

उनले राज्य कसको लागि र जनतालाई दुःख दिन बनाएका हौँ ? भन्दै प्रश्न गरे । नेपालीलाई स्वदेशमा बस्न, खान र लगाउने व्यवस्था नगर्ने र जीविकोपार्जन गर्न विदेश जानेमाथि ठग्ने राज्यको संरचना जवाफदेही हुनुपर्ने बताए ।

उनले गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको विषयमा उठेको कुराको जवाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर सदन चलाइएको भन्दै आपत्ति व्यक्त गरे । उनले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने कुरा दोहोर्‍याए ।

उनले भने, ‘जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहनुभएको छ । रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा बसेको छ । सम्मानित सदनबाट, भन्न चाहन्छु, यो राज्य कसको लागि बनाएका छौँ ? जनतालाई दुःख दिन बनाएका हौँ ? या जनताका लागि यो राज्य बनाएका हौँ ? तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने, खान लाउन र बासको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जन गर्न विदेश जानी महिला दिदीबहिनी र दाजुभाइहरूलाई ठग्ने यो राज्यको संरचना जवाफ देही हुनुपर्छ कि पर्दैन ? गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ, हामीले त्यसको जवाफ माग्दा आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराइरहँदा पनि यो सदन चलाउने ? यो हुन सक्दैन । छानबिन समिति चाहिन्छ ।’

भीजिट भीसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । सोमबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडी बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?