काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपालगायतका दलको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।
सभामुखले संसदमा जारी अवरोधबारे आजै बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।
सभामुखसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको प्रतिनिधि सभा बैठक अवरोध गर्ने जनाएको छ । सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताद्वय अर्याल र परियारले आफूहरूको माग सम्बोधन नभएकाले अवरोध जारी रहने सूचना दिएका थिए ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने पनि उनीहरूको माग छ ।
जवाफमा सभामुख घिमिरेले विपक्षीले उठाएको विषय गम्भीर रहेको बताए । तर, अब संसदमा अवरोध जारी राख्ने वातावरण नभएको बताएका थिए ।
आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया