काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।
आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको छ । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।
आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ पीडित धनबहादुरले बताए । आगलागीबाट मानवीय क्षति कुनै भएको छैन । सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया