बंगलादेशसँगको विद्युत् व्यापारमा कुनै आर्थिक जोखिम छैन : मन्त्री खड्का 

लोकपथ
112
Shares

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत् व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको स्पष्ट पारेका छन् । 

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले यस्तो स्पष्ट पारेका हुन् । उनले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गरे । उनले भारत र अडानी ग्रुपसँगको सम्झौता जस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबिच नरहेको दाबी गरे । 

मन्त्री खड्काले २८, ५०० मेगावाटको लक्ष्य प्राप्तिको लागि प्रक्रियागत सुधारका कामहरू भइरहेको जिकिर गरे । उनले लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने दाबी समेत गरे ।   

उनले भने, ‘बङ्गलादेशले विद्युत्को पैसा तिर्न सकेको छैन, लास्ट इयर पनि तिरेको छैन भन्ने कुरा, हाम्रो सम्झौतामै छ, हामीहरूले बैङ्क ग्यारेन्टी लिएर दिन्छौँ । लास्ट इयर एक दिनको मात्रै भएको कारणले त्यो पनि हामीकहाँ बैङ्क ग्यारेन्टी भित्रै पर्छ । हाम्रो त्यस्तो इन्डियासँगको जस्तो, अडानी ग्रुपसँगको जस्तो छैन । हामी यसमा सुरक्षित छौँ, लेनदेनको विषयमा । २८ हजार ५०० को लक्ष्य र काम गराइ भएन भन्ने होइन । यसमा धेरै प्रक्रियागत कुराहरूको सुधार भइसकेको छ । हामीले कमिटी नै बनाएर काम गरिरहेका छौँ । भएका आयोजनाहरू सबैलाई बाहिर ल्याउने, सबैको काम गराउने । हामीसँग ठुला ठुला आयोजनाहरू पनि, एउटै आयोजना हामीले अहिले सम्पन्न गर्दै गर्दा पनि २५ सय मेगावाटका आयोजनाहरू, ४–५०० हजार मेगावाटका आयोजनाहरू पनि छन् । यिनमा पनि काम भइरहेको छ । लक्ष्य प्राप्तिमा समस्या हुन्छ जस्तो हुँदैन ।’

नेपालले आइतबारदेखि बङ्गलादेशमा व्यावसायिक रूपमा पहिलो पटक विद्युत् निर्यात सुरु गरेको छ । आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरी भारतमा दश हजार मेगावाट र बङ्गलादेशमा ५ हजार मेगावाट गरी १५ हजार मेगावाट भन्दा बढी विद्युत् निर्यात गर्ने नेपालले लक्ष्य लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?