काठमाडौं । पछिल्ला दिनहरुमा इजरायल र इरानबिच युद्ध चर्किन थालेपछि सरकारले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलस्थित नेपाली दूतावास र दोहास्थित नेपाली दूतावासलाई फोन सम्पर्क गरी त्यसबारे जानकारी लिएकी हुन् ।
त्यसो त परराष्ट्रमन्त्री डा. राणाले कुटनीतिक नियोगसँग समन्वय गरी त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिन आग्रह गरेकी हुन् ।
साथै हाल इजरायलमा ५ हजार ५ सय र इरानमा १२ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनीहरु सबै सुरक्षित रहेको समेत बताइएको छ ।
‘हाल इजरायलमा करिब ५,५०० र इरानमा करिब १२ जना नेपाली रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ, परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।
त्यस्तै दुवै देशमा रहेका नेपालीहरुलाई राजदूतावासको सम्पर्कमा आउन समेत आग्रह गरिएको छ । साथै दुई देशबिचमो विकसित घटनाक्रमबारे सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकता अनुसार कदम चालिने समेत बताइएको छ ।
आजै इजरायलस्थित नेपाली दूतावासले समेत विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा रहन र दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।
केही दिनदेखि इजरायल र इरानबिच तनाव बढ्दो छ । इजरायलले इरानमाथि हमला गरेपछि त्यसको प्रत्याक्रमण भइरहँदा अवस्था थप कठिन बन्दै गइरहेको हो । त्यसो त यसअघि प्यालेस्टाइनले गाजा क्षेत्रमा हमला गर्दा नेपाली युवा विपिन जोशी अझै बेपत्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया