वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिएका छन् । तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उनले दोहोर्याए ।
तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गरेको छ र इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको छ ।
ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताए । उनले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता नरहेको बताए ।
‘यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण गर्यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईँमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन, ‘उनले एक पोस्टमा भने, ‘हामी इरान र इजरायलबिच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ ’
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो र उनले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएका थिए । उक्त सम्झौता पूर्व राष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया