संसदको दृष्य : रास्वपाले विरोध गरिरह्यो, बैठक अघि बढिरह्यो

लोकपथ
735
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निरन्तर विरोध जनाएको छ ।

गृहमन्त्रीको राजीनामा माग गर्दै आइतबारको बैठकमा रास्वपाले विरोध जनाइरहँदा बैठक भने निरन्तर अघि बढिरहेको हो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो । तर त्यसयताका बैठकहरुमा बजेटबारे छलफल हुन सकेको थिएन । शुक्रबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक सदनमा प्रस्तुत गरेका थिए । शुक्रबार समेत रास्वपाले विरोध जनाएको थियो, तर सभामुखले विरोधकैबिच समय दिएपछि विनियोजन विधेयक प्रस्तुत भएको थियो ।

आजबाट उक्त विधेयकमाथि छलफल सुरु भएको छ । आजको बैठकको सुरुमै रास्वपाले विरोध जनायो । विरोधकै बिच बैठक निरन्तर चलेपछि अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक नै बहिस्कार गरेको थियो ।

विनियोजन विधेयकमाथि छलफल जारी रहँदा रास्वपाका सांसदहरुले भने विरोधलाई निरन्तरता दिए । उनीहरुले ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नाराहरु लगाएका थिए ।

गत जेठ १३ गतेबाट रास्वपाले निरन्तर विरोध जनाउँदै आइरहेको छ । जसकारण धेरै वटा बैठकहरु बस्न सकेको थिएन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?