काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले बजेटका नाममा प्रदेशमा अराजकता मौलाएको आरोप लगाएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले सो कुरा बताएका हुन् ।
असार १ गते प्रदेशले बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार आज सात वटै प्रदेशले बजेट ल्याउँदैछन् । यसअघि नै बजेट निर्माणको तयारीका क्रममा योजना माग्न प्रदेशमा घुँइचो लाग्ने गरेको उनले बताए ।
‘प्रदेशमा अहिले अराजकताको स्थिति सिर्जना भएको छ । आजै सातै प्रदेशमा बजेट प्रस्तुत हुँदैछ । त्यहाँ कैयौँ हप्तादेखि मान्छेको ओइरो घुँइचो लाग्या छ,’ उनले भने ।
त्यस्तै उनले अहिले प्रदेशहरुले हचुवाको भरमा बजेट बाँड्न थालेको आरोप लगाए । प्रदेशले बिना योजना र ठेक्का स–साना योजनाका लागि बजेट कनिका छरिएको जस्तो छर्ने प्रवृत्ति रहेको टिप्पणी गरे । साथै प्रदेशमा १ करोड भन्दा कमका योजनालाई निरुत्साहित गर्नुपर्ने उनको धारणा रहेको छ ।
‘अहिले पनि हचुवाको भरमा बजेट बाँड्ने, स्रोत भन्दा ठूलो ज्यादा बजेट बनाउने र बिना ठेक्का २–४ लाख ५ लाख, ७ लाख १० लाखका ठेक्काका योजनाहरु प्रस्तावित गर्ने यो हाम्रो सीमित स्रोतसाधनको दुरुपयोग हो,’ उनले भने, ‘त्यसकारण केन्द्र सरकारले स्पष्टसँग निर्देशित गर्नुपर्छ । कि प्रदेश तहको बजेटमा पनि अनिवार्य ठेक्काबाट मात्रै आयोजना कार्यान्वयन गर्नुपर्छ । एक करोड भन्दा कमका आयोजना प्रदेशले पनि लागु गर्ने कामलाई हामीले कार्यान्वयनमा ल्याउनु पर्छ, पर्छ, पर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया