काठमाडौं । प्रतिनिधि सभा बैठकमा सरकारले प्रतिपक्षलाई पेलेर कार्यसूची अनुसार कामकारबाही अघि बढाएको छ ।
आजको बैठकमा प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाइरहेका छन् । तर सभामुख देवराज घिमिरेले भने दुई दलको विरोधलाई बेवास्ता गर्दै बैठकलाई अघि बढाएका हुन् ।
उनले सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएका छन् । घिमिरेले आकस्मिक समयमा बोल्न माग गरेको भन्दै उनलाई बोल्न दिएका हुन् ।
यसो त रास्वपा र राप्रपाले विरोध जनाइरहँदा उनले आफ्नो धारणा राखेका हुन् । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै विपक्षी दलहरुले गत जेठ १३ गतेबाट संसदमा अवरोध सिर्जना गरिरहेका छन् । तर माओवादी आफ्नो अडानबाट पछि हटेपछि संसदमा रास्वपा र राप्रपाले मात्रै विरोध जनाएका हुन् ।
यसअघि शुक्रबारको बैठकमा विपक्षीहरुको विरोधकाबिच गृहमन्त्री लेखकले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै त्यसपछि एमाले सांसद योगेशकुमार भट्टराई, माओवादी सांसद देवेन्द्र पौडेल लगायतले समेत आफ्नो धारणा राखेका हुन् ।
आफूहरुको विरोधकाबिच सदन अघि बढेको भन्दै रास्वपाले ‘वेल’ घेराउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया