जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँ : महेश बर्तौला

लोकपथ
602
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन् । 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसद्मा राख्न नदिने काम गरिरहेको बताए । संसद् आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने उनको भनाइ छ । 

शोक प्रस्ताव राख्दा पनि वेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको जिकिर गरे। सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्को मर्यादा गिराएको उनको आरोप छ । उनले अशोभनीय व्यवहार र प्रवृत्ति संसद्मा देखिनु राम्रो नभएको बताए  । 

उनले भने, ‘संसद्मा लामो समयसम्म यस प्रकारको अवरोध मात्रै कायम राखिरहने, यस प्रकारको मनशायबाट हिँडिरहने उहाँहरूको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ । हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ । आजदेखि हाउस नियमित प्रक्रियाबाट अघि जान्छ । सभामुखज्यूले शोक प्रस्ताव राख्दा पनि उहाँहरू वेल घेराउको क्रममा रहनुभयो । त्यो प्रक्रिया सामान्यतया एउटा शोक प्रस्ताव भनेको एउटा सम्मान हो । त्यति बेला उहाँहरूले आसन ग्रहण गर्नुपर्दथ्यो । वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध हो । सरकारी बिजनेस कार्यसूचीबाट हटिसकेपछि पनि वेल घेराउ गर्ने, प्लेकार्ड बोकेर वेल घेराउमा बस्ने । डायरीले टेबल ठटाउने जस्ता अशोभनीय व्यवहार गर्नुभयो । यस्तो प्रवृत्ति संसद्मा देखिनु राम्रो होइन ।’

प्रमुख सचेतक बर्तौलाले सङ्घीय निजामती लगायतका महत्त्वपूर्ण विधेयकहरू आजको संसद् बैठकबाट अघि बढाइने जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?