रास्वपाले भन्यो– ‘माओवादीले झक्यायो, संसदमा अवरोध जारी रहन्छ’

लोकपथ
672
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन् । 

सभामुख देवराज घिमिरेले बोलाएका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए । सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनको आरोप छ  । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ । 

उनले भने, ‘रास्वपा भिजिट भिसा र अध्यागमनको प्रकरणमा आन्दोलनमा छ । हामीले लामो प्रयास गरेका छौँ, निकै दिन संवाद गरेका छौँ । र पनि सरकारले त्यो मुद्दा गम्भीरताका साथ मुद्दा लिएन । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ भएन । प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसाबमा भएन । जुन तहको छानबिन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन । झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ ।’

उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरू पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको बताए ।

आफूहरूले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?