काठमाडौं । सातवटै प्रदेश सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट सार्वजनिक गर्दै छन् । असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आर्थिक वर्षको वार्षिक आय-व्यय विवरण सार्वजनिक गर्न लागेका हुन्।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र०८२ को तुलनामा बजेटको आकार बढाएर ल्याउने तयारी गरेको हो ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ मा ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो।
यस्तै, मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोशी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएको थियो भने कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया