‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेसी समुदाय एकजुट हुनुपर्छ’

लोकपथ
77
Shares

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेसी समुदाय एकजुट हुनुपर्नेमा जोड  दिएका छन् । 

सुडी समाज काठमाडौं, महिला उपसमितिले आज यहाँ आयोजना गरेको ‘स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण’ कार्यक्रममा उनले पहिलेको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत राज्यका सबैजसो संरचनामा मधेसी समुदायको सहभागिता बढ्दै गएको उल्लेख गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत हुँदै संयुक्त रूपमा लाग्नुपर्ने बताए ।

मन्त्री सुडीले भने, ‘मधेसमा भएको लामो संघर्ष र बलिदानबाट मधेसी समुदायले कतिपय हक अधिकार प्राप्त गरेका छन्, नीति निर्माण तहमा पनि सहभागिता बढ्दै गएको छ । तर अझै धेरै महत्त्वपूर्ण अधिकार प्राप्त हुन नसकेको अवस्थामा ती अधिकार प्राप्त गर्न समुदाय एकजुट हुनु जरुरी छ ।’

सुडी समाजको विकास, उत्थान र उन्नतिका लागि समुदायका सबै जहाँ भए पनि एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री सुडीले राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रूपमा सबल र सशक्त समाज निर्माणका लागि समाजले मार्गदर्शकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?