निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छ : सभामुख घिमिरे

लोकपथ
210
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् । शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । 

उनले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताए । उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताए । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामूलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरू गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको बताए ।  

सभामुख घिमिरेले भने, ‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ । जनमुखी बनाउनसक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् की निर्वाचन प्रणालीका दोषहरू हुन् । निर्वाचन प्रणालीका दोषहरू हुन् की निर्वाचन आचारसंहीतासँग गाँसिएका कुराहरू हुन् ? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको भूमिकाको समस्या हो की ? बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरू चलिरहँदाखेरी हाम्रो छलफल खास गरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरूको बारेमा बढी विवेचना हुनुपर्छ । नेपालको सन्दर्भमा हामीले समावेशी बनाउने एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ । दुई वटा आवधिक निर्वाचन गरेर त्यसको परिणाम भोगिरहेका छाैँ । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामूलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरू गर्ने विधि के हुनसक्छ ? यो नै आजको छलफलको विषय हो । ’ सभामुख घिमिरेले निर्वाचन प्रणालीको बारेमा बहस र छलफल हुन आवश्यक रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?