काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० को उपसमितिका संयोजक छविलाल विश्वकर्माले जिम्मेवार पक्षसँगको अनवरत छलफल पछि प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताएका छन् ।
शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिए ।
उनले उपसमितिमा सरकारले समय समयमा विभिन्न सरोकारवालाहरूसँग गरेका सम्झौता सहमतिमा समेटिएका र विधेयकमा सम्बोधन हुनुपर्ने विषयका बारेमा पनि सम्बन्धित मन्त्रालयसँग माग गरेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताए ।
संयोजक विश्वकर्माले सम्झौता र सहमतिहरू अनन्त चलिरहने खालको परिस्थिति अन्त्यका लागि पहल गरिएको र त्यसो हुन नसके विधेयकको काम टुंगिन सम्भव नहुने जानकारी दिए ।
निजी विद्यालयसँग सम्बन्धित र बाल विकाससँग सम्बन्धित विषयमा भने समितिमा नै गहन छलफल गर्नुपर्ने निष्कर्षसहित उपसमितिले प्रतिवेदन तयार पारेको उनको भनाइ थियो ।
उनले निष्कर्षहरू खण्ड खण्डमा आउनु उचित नहुने भन्दै दुई विषयलाई भने समितिमै छलफल गरेर टुंगोमा पुर्याउने गरी प्रतिवेदन समितिसमक्ष बुझाएको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया