काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण तहमा खुलेका सामुदायिक क्याम्पसहरूकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको बताएका छन् ।
सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् । कृषि मन्त्री अधिकारीले ग्रामीण तहमा सामुदायिक क्याम्पस नभएको भए लोकतन्त्रमाथि प्रश्न चिन्ह खडा हुने बताए ।
सामुदायिक क्याम्पसहरूकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्ने बताए । उनले युवाहरू विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्यूनीकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गरे । उनले युवाहरूलाई स्वदेशमै बस्ने परिस्थिति बनाउन सरकारले काम गरिरहेको बताए ।
मन्त्री अधिकारीले भने, ‘हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन् । हामीले युवाहरूलाई यहीँ बस्ने, ती युवाहरूको बसोबास यहीँ रहने, बाहिरिने परिस्थितिबाट अन्त्य हुनसक्छ । शिक्षा ऐन जारी गर्न शिक्षामन्त्री ज्यु आएको दिनदेखि नै सक्रिय रूपमा लाग्नुभएको छ । हामीले देखिरहेका छौँ । यदि ग्रामीण तहमा यो पब्लिक क्याम्पस खुलेको थिएन भने नेपाली जनताले लडेर ल्याएको डेमोक्रेसीमाथि अनेक प्रश्न चिन्ह खडा हुन्थ्यो । यही कारणले लोकतान्त्रिक गणतन्त्र बाँचेको छ र बाँचेको छ । यस्ता संस्थालाई हामीले बचाउनु पर्छ । यो जिम्मेवारी हामीसँग छ ।’
मन्त्री अधिकारीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसको भरमा मात्रै रहेको भए गणतन्त्र सुरक्षित हुन नसक्ने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया