काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसद्लाई लामो समय अवरुद्ध गर्ने काम ठिक नभएको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब बजेटमाथि छलफल गर्नुपर्ने बताए । साथै विद्यालय शिक्षा विधेयक, निजामती विधेयक छलफल गरी छिटो पारित गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले एक महिनाभित्र भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर अघि बढ्ने भन्ने प्रस्ताव ल्याएको र त्यसमा सत्तापक्षले सहमति जनाए पनि रास्वपाभित्रैको पार्टीको अन्तरविरोधका कारण सहमत हुन नसकेको दाबी गरे । रास्वपामा एकमत नरहेको स्पष्ट भएको बताए
सचिव भट्टराईले भने, ‘प्रतिनिधि सभाको बैठक लामो समय अवरुद्ध हुनु ठिक थिएन । अब बजेटमाथि छलफल गर्नुपर्नेछ, निजामती, विद्यालय शिक्षा विधेयक छलफल गरी पास गर्नुपर्नेछ । अरू पनि विधेयक छन् त्यसलाई छिटो पारित गरी मुलुकमा विधायकी काम अघि बढाउनुपर्नेछ । मूलतः बजेटको समय सीमा नजिकँदैछ । यो संसद्लाई लामो समय अवरुद्ध गर्ने काम ठिक थिएन । माओवादी केन्द्रले जुन सुझबुझ देखाएको छ धन्यवाद छ ।’ सचिव भट्टराईले अध्यागमन, भिजिट भिसाका कुरामा कानुनी सुधार गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया