अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन् : महासचिव भुसाल 

लोकपथ
329
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेका बनिबनाउ पार्टीहरूले देशको मुहार फेर्न नसक्ने दाबी गरेका छन्  । 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १०औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दलाल पुँजीवादको गढ जस्ताको त्यस्तै रहेकाले मुलुकको सार्थक परिवर्तन हुन नसकेको स्पष्ट पारे । 

उनले मुलुकमा दरबार हटाएर प्रजातन्त्र र गणतन्त्र ल्याएको बताउँदै केही नेता फेरि त्यही दरबारमा पसेको जिकिर गरे । उनले दलाल पुँजीवादसँग गठजोड गरेको राजनीतिले देशलाई मुक्ति दिन उल्लेख गरे । महासचिव भुसालले मुलुकमा धेरै परिवर्तन भए पनि दलाल पुँजीवाद परिवर्तन हुन नसकेको धारणा राखे । उनले उत्पादन नगरी नाफा कमाउने र त्यो नाफाले नेतादेखि सांसद किन्ने राज्य बनेको बताउँदै राज्यको खास चरित्र बदलिन नसकेको जिकिर गरे ।  

उनले भने, ‘आज भएकै बनिबनाऊ पार्टीहरूले जस्ताको तस्तै रहेर मुलुकको मुहार फेरिन्न । त्यसको खास कारण के हो भने, धेरै कुरा बदलियो एउटा कुरा बदलिएन, दरबार दलाल पुँजीवादको गढ थियो । त्यो नेता थियो । त्यसलाई हामीले हटायौँ । प्रजातन्त्र, लोकतन्त्र ल्यायौँ । केही थान नेताहरू दरबार पसे । हामीले गणतन्त्र ल्यायौँ, अर्को थान नेताहरू फेरी त्यहीँ पसे र यसरी दलाल पुँजीवादसँग गठ जोड गरेको यो राजनीतिले मुक्ति दिँदैन । धेरै कुरा फेरियो तर, एउटा कुरा फेरिएन त्यो हो, दलाल पुँजीवाद । उत्पादन नगर्ने तर नाफा कमाइरहने, त्यो नाफाले राजनीतिक नेता किन्ने, सांसद किन्ने, त्यति भइसकेपछि अदालत किन्ने, त्यसपछि प्रहरी प्रशासन त अरौटेबरौटे भइहाले । यस्तो एउटा राज्य बन्यो । राज्यको यो खास चरित्र बदलिएन । त्यो कुरामा हाम्रो एकाग्रता भएन कि ।’

उनले भुसालले राज्यको मूल चरित्र परिवर्तन नहुँदा देशमा स्थायित्व, समृद्धि र जनताको अपेक्षाअनुसारको परिवर्तन सम्भव नभएको धारणा राखे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?