जिल्ला प्रशासन कार्यालयलाई मुख्यसचिव अर्यालको निर्देशन : ‘सेवाग्राहीलाई पहिलो प्राथमिकता दिनुस्’

लोकपथ
1.1k
Shares

काठमाडौं ।  मुख्यसचिव एकनारायण अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा मुख्यसचिव अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हुने सेवा प्रवाहका बारेमा जानकारी लिएका हुन् ।  

उनले कार्यालयले प्रवाह हुने सेवामा सेवाग्राहीले समस्या भोग्नु नपर्नेतर्फ सचेत रहन कर्मचारीलाई आग्रह गरे ।  सेवा प्रवाहमा कर्मचारीको कामको प्रशंसा गर्दै मुख्यसचिव अर्यालले आफू प्रमुख जिल्ला अधिकारी हुँदादेखिकै केही समस्याहरु अझै पनि कायमै रहेको र त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताए  । 

उनले स्थानीय पालिकाहरूमा नभएका र अन्य कार्यालयमानसमेत हुन नसकेका समस्याको समाधान सिडिओ कार्यालयबाट हुन्छ भन्ने छाप सेवाग्राहीमा रहेकोले अपेक्षाअनुसार काम नहुँदा जनतामा नकारात्मक असर परिरहेको टिप्पणी गरे । 

उनले भने, ‘आज काठमाडौं जिल्लाको प्रशासन कार्यालयको सेवा प्रवाहको स्थिति र तपाईँहरूको समस्याहरूको सन्दर्भमा जानकारी लिने हिसाबमा अकस्मात हामी आएको हो । सुरुमा आउँदा त मलाई कसैले पनि चिनेन । पछि चाहिँ म आएको भनेर सिडिओ सावलाई खबर गर्नुभयो । वास्तवमा तपाईँहरूले दिइरहनुभएको सेवा धेरै हदसम्म राम्रो लाग्यो । त्यसका लागि सबै कर्मचारी साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । र केही सुधार गर्नुपर्ने विषय छन्, म यसै जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेको हुँ । त्यतिखेर पनि केही समस्याहरू थिए । किनभने काठमाडौं जनसंख्याको हिसाबले अन्य जिल्लाको तुलनामा धेरै छ । कुनै न कुनै हिसाबमा यो कार्यालयसँग जोडिएकै हुन्छ । मान्छेलाई के परेको छ भने कहीँबाट भएन भने प्रमुख जिल्ला अधिकारीकोमा गयो भने काम हुन्छ भन्ने एक खालको पहिलेदेखिको छाप छ । किनभने स्थानीय पालिकाहरूमा नभएको, अरू कार्यालयहरूमा नभएको कामहरू सिडिओ कार्यालयमा गयो भने पक्कै पनि समस्याको समाधान हुन्छ भन्ने मानसिकता छ । सेवाग्राहीको अपेक्षाअनुसार त्यो अनुरूप काम नभएको पनि यदाकदा छ । त्यसले जनतामा नकारात्मक असर पारिरहेको छ । यो कार्यालयको काम भनेको अन्य ठाउँमा निकास ननिस्किएको काम गर्ने हो ।’

उनले जिल्लाका हरेक नागरिक कुनै न कुनै हिसाबले जिल्ला प्रशासन कार्यालयसँग जोडिएको हुनाले पहिलो प्राथमिकतामा सेवाग्राहीलाई राख्न निर्देशनसमेत दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?