भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन : गृहमन्त्री लेखक

लोकपथ
189
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले  आफू विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । 

आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गरे । मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताए । उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे । 

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहन्छु । र म साथीहरूलाई आग्रह गर्न चाहन्छु–संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनै पनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो । त्यसको ताकत साथीहरूसँग छ ?’

सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बिचमा मन्त्री लेखकले आफ्नो धारणा राखेका छन् । 

माओवादी संसद्को गतिरोध अन्त्य गर्न तयार भए पनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बिच सभामुखले सभालाई अगाडि बढाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?